Friday, February 6, 2026

गजल

 

रातो खियाले खायो खुकुरीको शान हाम्रो

फेरि पनि पुरानै शेखी अडान हाम्रो

 

अवगत समस्तलाई औकात, ईमान हाम्रो

कुन दिन मेटाउँछ कस्ले नामोनिशान हाम्रो ।

 

धूत्र्याइँको कुरा के निरपेक्ष राष्ट्रघाती

भन्छौं छिमेकीलाई खुट्टा नतान हाम्रो ।

 

मोदी प्रभाव औधी बढ्दैछ यो जगतमा

देखेरै ओज जसको सुक्दैछ प्राण हाम्रो ।

 

साराको दान थाप्ने लाचार अनि भिखारी

सिंगै यो राष्ट्र हो कि दातव्य दान हाम्रो ।

 

उद्यम, विकासका छन् अवरुद्ध मार्ग सारा

बेरोजगार भोकै कर्मठ किसान हाम्रो

 

पल पल पछाडि सर्ने गज्जप छ अग्रगामी

नाममात्रको छ खाली राष्ट्रिय गान हाम्रो

 

मूसा कसोरी मर्नु धेरै भए बिराला

ठेकी दहीको हान्ने ठूलै बथान हाम्रो

 

यो अन्धकार झन झन गाढा हुँदैछ आमा

कुन बैरीले लुट्यो खै स्वर्णिम विहान हाम्रो

 

होस्टेमा हैंसे गर्दै छोड्छन् बनाई यो देश

सोमालिया, बुरुण्डी, कंगो, सुडान हाम्रो

 

यो जन्ममै नलेख्ने ठानेर ढुक्क भा छौ

धेरै भो गाइजात्रा खोइ संविधान हाम्रो ??